विश्वमा 2019 मा भएका विभिन्न घटनाहरु
श्रोत : कान्तिपुर
राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण यस वर्ष अमेरिका नै चर्चाको केन्द्रमा रह्यो । २०१९ सुरु भएसँगै उत्तर कोरियाली नेतासँगको शान्तिवार्ता गरेका ट्रम्पप्रति वर्षको अन्त्यमा लगाइएको महाअभियोग धेरैको चासोको विषय बन्यो । त्यसका साथै अन्य केही विषय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा रहे ।
ट्रम्पविरुद्ध महाअभियोग
=========
सन् २०१९ को अन्त्यतिर भने राष्ट्रपति ट्रम्प आन्तरिक राजनीतिका कारण चर्चामा आए । अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’ ले ‘शक्तिको दुरुपयोग गरेको’ र ‘कंग्रेसलाई अवरुद्ध पारेको’ भन्दै डिसेम्बर १८ मा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाइसकेको छ । विपक्षी दल डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनमा भएको मतदानमा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ सांसद उभिएका थिए ।
ट्रम्प संसद्ले महाअभियोग लगाएका तेस्रो अमेरिकी राष्ट्रपतिसमेत भएका छन् ।
मुसर्रफलाई मृत्युदण्ड
========
पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनायो । इस्लामाबादस्थित विशेष अदालतको तीन सदस्यीय इजलासले मुसर्रफलाई ‘संविधानको अवहेलना तथा गम्भीर देशद्रोह’ को मुद्दामा पाकिस्तानी संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको जनाइएको छ ।
सन् २००७ को नोभेम्बरमा संकटकाल घोषणासँगै संविधान निलम्बन गरेपछि मुसर्रफविरुद्ध देशद्रोहको मुद्दा लगाइएको थियो ।
तनावोन्मुख अमेरिका–उत्तर कोरिया सम्बन्ध
=========
परमाणु निःशस्त्रीकरण र नाकाबन्दीमा केन्द्रित रहेर अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले गतवर्ष सिंगापुरमा भेटवार्ता गरेका थिए । तर वार्तामा ठोस निर्णय हुन नसकेपछि दुई नेताबीच यस वर्ष दुईपटक भेटवार्ता भयो । यद्यपि, वार्तामा कुनै सहमति हुन भने सकेन । दुई नेताबीच सन् २०१९ को फेब्रुअरीमा भियतनामको हनोई तथा जुलाईमा दुई कोरियाली सीमाक्षेत्रमा वार्ता भएको हो ।
सान्ना बनिन् कान्छी प्रधानमन्त्री
===========
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन यसै वर्ष विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भइन् । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै मरिनले महिला बाहुल्य मन्त्रिमण्डल गठन गरेकी छन् । त्यसका साथै उनको मन्त्रिपरिषद्का धेरै सदस्य ४० भन्दा कम उमेरका छन् । गठबन्धन सरकारमा ५ वटा दल सहभागी छन् । सबै दलको नेतृत्व महिलाले गरेका छन् भने ४ दलका नेतृ ३५ वर्षभन्दा कम उमेरका छन् ।
बेक्जिटमा रुमल्लियो बेलायत
=============
सन् २०१९ मा बेलायतले कैयौं राजनीतिक उतार–चढाव झेलेको छ । युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मुद्दा यसको प्रमुख कारण रह्यो ।
सन् २०१६ जुनमा भएको जनमत संग्रहमा बेलायती जनताले ईयूबाट अलग्गिने पक्षमा मत दिएपछि सुरु भएको ब्रेक्जिट मुद्दा बल्ल टुंगिने चरणमा छ । यो २९ मार्च २०१९ मा अलग्गिनुपर्ने तालिका थियो । पूर्वप्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट प्रस्ताव संसद्ले पटकपटक अस्वीकार गरिदिएपछि बहिर्गमन म्याद २०१९ को अक्टोबर ३१ का लागि सारियो ।
बेलायती संसद्ले आउँदो जनवरी ३१ तारिखभित्र ब्रिटेनले युरोपेली संघ (ईयू) छाड्नुपर्ने योजनालाई अनुमोदन गरिसकेको छ ।
भारतमा देशव्यापी प्रदर्शन
=======
भारतका दुवै सदन लोकसभा र राज्यसभाले डिसेम्बर ११ मा नागरिकता संशोधन विधेयक पारित गरेपछि देशव्यापी विरोध प्रदर्शन सुरु भयो । नयाँ कानुनअनुसार सन् २०१४ को डिसेम्बर ३१ अघि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट भारत प्रवेश गरेका हिन्दु, शिख, बौद्ध, क्रिस्चियन, जैन, फारसीलाई नागरिकता दिने व्यवस्था गरिएको छ ।
विश्वविभाजनकारी भेनेजुएली विद्रोह
============
भेनेजुएलाको राजनीतिक संकटसँगै सुरु भएको सन् २०१९ मा त्यहाँ विकसित राजनीतिक घटना क्रमले विश्व समुदायलाई नै विभाजित बनायो । चरम आर्थिक संकट झेलिरहेको भेनेजुएलामा सन् २०१८ को मे महिनामा भएको राष्ट्रपतीय चुनावमा भएको धाँधलीका कारण राजनीतिक संकट उत्पन्न भयो ।
राष्ट्रपति निकोलास मडुरोविरोधी देशव्यापी आन्दोलनबीच भेनेजुएलाको राष्ट्रियसभाका प्रमुख ३५ वर्षीय हुँवा गुवाइडोले जनवरीमा २३ मा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे ।
कश्मीर विवाद र भारत–पाक तनाव
========
भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्य जम्मु–कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेसँगै जम्मु र कश्मीर तथा लद्दाख भारतको केन्द्र शासित राज्य भएका छन् ।
लोकतन्त्र माग्दै प्रदर्शन
==========
सन् २०१९ मा विश्वका कतिपय देशमा लोकतन्त्र र सुशासनको माग गर्दै जनताहरू सडकमा उत्रिए । चीन प्रशासित हङकङमा गत जुनमा सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन लोकतन्त्रका विभिन्न पक्षमा केन्द्रित रह्यो । पछिल्लो समय प्रदर्शनकारीले हङकङकी कार्यकारी प्रमुख क्यारी लाम राजीनामा, सुपुर्दगी विधेयक खारेजी तथा प्रदर्शनका क्रममा भएका हिंसाको स्वतन्त्र छानबिनको माग राख्दै आएका छन् । प्रदर्शनले उग्ररूप लिँदै गएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न औद्योगिक प्रतिष्ठान बन्द भएपछि हङकङको आर्थिक अवस्था नाजुक बन्यो ।
श्रीलंकामा दाजुभाइको सत्तारोहण
=========
श्रीलंकामा नोभेम्बर १६ मा भएको राष्ट्रपतीय चुनावमा गोटाभया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भए । त्यसको केही गोटाभायले आफ्ना दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरे ।
जापानी सम्राट्को ऐतिहासिक निर्णय
==========
सन् २०१९ मै जापानी सम्राट्ले इतिहासमै दुर्लभ निर्णय लिए । जापानी सम्राट् अकिहितोले स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय गरे । जापानको २ सय वर्षभन्दा लामो समयसम्म नभएको घटनापछि उनका छोरा, ५९ वर्षका नारुहितो जापानका सम्राट् बने । नयाँ राजाको गद्दी आरोहणसँगै जापानमा नयाँ युगको सुरुवात भएको भनिएको छ ।
No comments:
Post a Comment